Archive for the ‘आरोह-अवरोह’ Category

my first project -Kambakht Bollywood

August 1, 2010 - 2:02 pm 8 Comments


बितेको हप्ता ब्यस्ततामा बितेपनि रमाइलो भयो। ३ मिनटको छोटो फिल्म बनाउनुपर्ने थ्यो कलेजको प्रोजेक्ट अन्तर्गत। अभिनय र एनिमेशनमा बाहेकका डाइरेक्सन, सिनेम्याटोग्राफि, एडिटिङ, साउण्ड र प्रोडक्सनका बिद्यार्थिले अनिबार्य बनाउनैपर्ने प्रोजेक्ट थ्यो यो। पालना गर्नुपर्ने संबिधान सहितको एसाइन्टमेन्ट इमेलमा आयो। कलेज क्याण्टिनमा खाजा होस या लञ्च अथवा मसला चाय र आइस कफि पिउँदै गर्दापनि बिद्यार्थिहरु आफ्ना सम्भावित कथाबस्तु/बिषय खोज्नमा तल्लिन थिय । मैले पनि नजिकैको पहाडतिर हेर्दै खै के को बारेमा बनाउनेहोला भनेर सोँच्दै थियँ क्याण्टिनमा, ग्रप बी को मोटे साथि सिरि आयो र भन्यो ‘चल दम मारतेँ हेँ बाहर’। म उतिर फर्कियँ र भनेँ ‘not now man, we will go later, you know, we have to think about 3 minute project’

मोटेले पेट कन्याउँदै मलाइ भन्यो ‘अरे तेरेको क्या दो महिनेमेँ सत्यजित रे बन्नेका हे रे क्या….अन्नाने बोला ना, चल दम मारते हेँ, बडावाला गाँल्ड फ्लेक लियला हे अपुन ने’
‘बट प्रोजेक्टका…?’
‘अरे मेरा बाप…उसका भी काम भारि करेङगे यार’
मोटे मेरो पहिलो दिनमा बनेको साथि थ्यो कलेजमा। उ मुम्बइमै जन्मियो, हुर्कियो, बढयो, ग्राजुयशन सक्यो र अहिले सिनेमा कलेजमा सिनेम्याटोग्राफि सिक्दैछ। उमेरमा म भन्दा चार बर्ष कान्छो हो पाजी!

हामि कलेजबाहिरको रिलायन्स मिडिया हाउसको चौरमा उसको मोटरछेउ उभियर दम मार्ने काम भयो। चुरोट तान्नुलाइ दम मार्ने भनिँदो रहेछ। लञ्च गर्नुपर्यो भने ‘चल चामल या चपाति टप्का डाल्ते हेँ’ । मैले यो मुलाले मेरो अगाडि भाइगिरि देखायको होला भन्ठानेको भ्रमपनि हटेको थ्यो जब एकदिन चपाति टप्का डाल्दै गर्दा उसलाइ आमाको फोन आयो घरबाट। खै आमाले के भनिन थाहा भयन तर यसले ‘बस बोलदिया ना, ज्यादा मचमच मत कर माँ, अपुन बच्चा तो नहि हे ना, क्या घिसिपिटि करेली हे रे बाबा’ भन्यो। आमाको अन्तिम संवाद सुनियो ‘अपनेको कुछ लोचा नहिँ मङता सम्झा ना छोटे’!

अब के भन्नु, यसको त घरमै भाइगिरि चल्छ झैँ लाग्यो। आमाका संवादपनि सानोतिनो डन भन्दा कम्तिका थियनन। सिरिले एक शनिवार बोरिवलिस्थित उसको घरमा खाना खान जाउँला भनेको थ्यो, मैले एक महिना जिम गरेर मात्र जाने योजनाले अहिले स्थगित राखेको छु प्लान। जीम जान शुरु गरिसकेको छु कलेजमा। मुख्य बिषयतिर फर्कौँ।

मलाइ बनाउनु थ्यो सानो फिल्म, बिषय भेटाइरहेको थिइन के बनाउँ के बनाउँ? फिल्म मेकिङको राम्रो टेक्निकल ज्ञान नभै गम्भिर बिषय नउठाउने सोँचेको थियँ, नत्र जे पाइ त्यहि बनायर पनि दर्शकबाट रामधुलाइ खाने सम्भावना बलियै हुन्छ। कमेडि बनाउँ भन्दैमा खगेन्द्र संग्रौलालाइ हाँस भनेर भयन। दुइ दिनजति बिषय खोज्न स्लम एरियातिर टहलियँ कलेज जाँदा र फर्किँदा तर भन्दाबित्तिकै कहाँ के मिल्छ र बाबु! शुटिङ शुरु हुन तिन दिन बाँकि थ्यो । स्क्रिप्ट लेखेर बुझाउनुपर्ने बेला भैसकेको थ्यो, मैले सिरिलाइ क्याण्टिनमा सोधेँ ‘मेरो फिलिममा खेल्छस मोटे?’ उ झस्कियो।
‘सब्जेक्ट क्या सोँचेला हे? बोले तो टाइटल क्या हे?’
‘कम्बख्त बलिउड’ मैले भनेँ। उ हाँस्यो।
‘क्या बात हे….चल स्टोरि सुनिच्लेते हेँ’

मैले स्टोरि भनेँ। तिन मिनटको बनाउनलाइ त्यति धेरै शटहरु खिच्नु त नपर्ला तर स्टोरि नै देखियन भने पनि झ्याउ नै हुन्छ भन्ने थ्यो मनमा। मोटेले हुन्छको स्विकृति दियपछि मैले त्यहिसाँझ सामान्य स्क्रिप्ट लेखेँ र शट बिभाजन गरेँ। (more…)

Mumbai Life and School

July 27, 2010 - 12:14 am 10 Comments

मुम्बइ आयर कलेज शुरु भयको दुइ हप्ता पुग्दैछ। दुइ हप्तामा धेरै कुराहरु भय। दुइदिनको लागि गोवा गयँ, सामुद्रिक तटमा बसेर रुझेँ। कलेजमा थुप्रै देशका साथि बनायँ या थुप्रैसँग बनेँ। मुम्बइको पाउभाजी, चाट र इडली खायँ। साथिहरुसँग सिनेमा हेर्न गयँ। हिन्दि सिनेमा ‘पा’ को निर्देशक बाल की लाइ प्रश्न सोधेँ उनको सिनेमाको बारेमा। सुभाष घइ लगायत बलिउड प्रोफेशनलहरुका लेक्चर सुनेँ ।

म धेरैबर्षपछि यसरि रेगुलर कक्षामा जाँदैछु । सिनेमा कलेज स्वभावैले ‘ट्रेडिशनल कलेज’ हरुभन्दा फरक हुन्छ। प्राय मान्छेहरु बिन्दासै हुन्छन। रचनात्मक आइडियाहरुका बारेमा घोत्लिन्छन र सप्ताहन्तमा रमाइलो गर्छन। कलेजको जीवन अत्यन्त ब्यस्ततामा बितिरहेको छ। समयमा बुझाउनुपर्ने एसाइनमेन्ट र लोकेशन स्टडीका बारेमा म कोठामा काम गरिरहेको हुन्छु। यो हप्ता हाम्रो पहिलो प्रोजेक्ट शुरु हुनेछ जहाँ हरेक बिद्यार्थिले तिन मिनटको छोटो फिल्म बनाउनुपर्नेछ। म घोत्लिँदैछु मध्यरातमा। सिनेमा मेकिङको एउटा प्रोसेस हुँदो रहेछ। तिन मिनटको फिल्म बनाउँदा पनि बजेटिङदेखि, लोकेशन र आवश्यक लजिस्टिकका बारेमा प्रोसेस पुरायर काम गर्नुपर्ने नियमहरु छन। अंग्रेजी र हिन्दि सिनेमा हेरेर सकियपछि आउने क्रेडिट टाइटल देख्दा लाग्थ्यो, यति धेरै मान्छेले एउटा सिनेमा बनाउन काम गरेका होलान र? तर सिनेमा मेकिङ टिमवर्क हो, सबैलाइ थाहा भयकै कुरा हो तर सबैलाइ जिम्मेवारि बाँडेर उत्कृष्टहरुबाट उत्कृष्ट काम लिनसक्नुपर्दो रहेछ।

सिनेमा मेकिङमा एउटा स्पट ब्वाइको पनि भुमिका महत्वपुर्ण हुन्छ। सुभाष घइले कक्षामा आफ्नो अनुभव बताय, एकपल्ट उनि निर्देशक महेश भट्टलाइ भेट्न भट्टको शुटीङ स्पटमा पुगेका रहेछन साँझ, शुटिङ शुरु भैसकेको रहेनछ। भट्टले टिमलाइ आज शुटिङ गरिने सिन/शटहरुका बारेमा बताउँदै रहेछन र त्यहाँ ध्यान दियर सुनिरहनेमा स्पट ब्वाइदेखि लाइट असिस्टेन्टसम्मका रहेछन। अर्थ के रहेछ भने, टिमका सबैलाइ यदि निर्देशक आफुले चाहेको के हो भनेर बुझाउन सक्यो भने टिममेम्बरले त्यसै अनुसार काम गर्दा रहेछन। स्पट ब्वाइको काम चिया बोक्नुमात्र हो भन्ने ठान्ने भए भट्टले किन कथा सुनाइरहँदा हुन र? सिक्नुपर्ने तथ्य के देखियो भने, टिममा रहेका सबैको भुमिकालाइ बुझ्नुपर्छ र मात्र सफल सिनेमा या कार्यक्रम बन्छ। (more…)

Its Raining…. in Kathmandu

June 24, 2010 - 4:44 pm 4 Comments

काठमाडौमा पानी पर्ने सिजन आयको छ।
हिँजो ओम हस्पिटलको झ्यालबाट हेरेँ दिउँसो मिठो पानि परेको । यो पानिमा कानमा गित सुन्दै रुझ्नुको रमाइलोका बारेमा सोँच्दै थियँ । आमालाइ अस्पतालमा छाडेर पानिको रमाइलो उठाउन सकियन ।

एउटा गाउँ हुन्थ्यो। डोरा कट्टुमात्रै लगायर साइकलको पाङ्रा गुडाउँदै पानिमा रुझ्दै हिँडने पात्र मै थियँ । खेतहरु चिप्लिन्थे तराइका, अनि हामि चिप्लिने खेल्थ्यौँ । कहिलेकाँहि ठेस लाग्थ्यो। पानी दर्किरहन्थ्यो । गँड्यौला खोजेर बल्छिसहित माछा मार्न हिँडिन्थ्यो, माछा नपर्नु बेग्लै अनुसन्धानको बिषय हुनसक्छ। तराइको गर्मि अनि डोरा कट्टुसहितको जीउ, कालो हुन्थ्यो । आमा हकार्नुहुन्थ्यो ‘पानीमा नरुझ बाबु’ भन्दै। साँझ ज्वरो आउँथ्यो। आमा औषधि ख्वाउनुहुन्थ्यो प्रेमले ।

बुवाको मोजा अपहरण गरेर कागज हाली भकुण्डो खेल्दा बिश्वकप खेलेझै लाग्थ्यो। दशैसँगै लङगुर बुर्जा आउँथे। २-४ रुप्पे जितेपछि एकसाँझ म र साथि अर्को टोलमा लङगुरबुर्जा खेलाउन गयौँ । सबैले बुर्जामा थापे, डबल पर्यो, तिर्ने पैसा भयन, बिस रुप्पे लगानिमा उद्योग खोल्नु मुर्खता होइन र? राम धुलाइ खायर फर्कियो । दुइतिनदिनसम्म आमाले मालिस र तेल गर्नुपर्यो । त्यो रामधुलाइले फेरि लङगुर-बुर्जा उद्योग खोल्ने साहस पलायन। खेलेरै चित्त बुझाइयो।

काठमाडौमा पर्ने पानिले धेरै स्मृति बल्झाउँछ । यो हावा किन यति मिठो छ, यो मेरो ठाउँ किन सधै हिँडिरहुँजस्तो लाग्छ । मौसम परवर्तनले हिउँ पग्लन थालेपनि फुल फुल्न छाडेका छैनन। यो ठाउँ केहि समयका लागि छाडदैछु भन्ने सोँचले मलाइ झन यसैको प्रेममा पारेको छ । तर जीवनमा सधै पुराना बाटा हिँडिदैन, नयाँ बाटा खोजिन्छ। Fear of Failure हराइसक्यो । कहिलेकाँहि साना निर्णयहरुले जीवनको बाटो बदलिदिन्छन । पाउलोले कतै लेखेका छन- Small decisions may hold significant consequences सत्य यहि हो ।

आमालाइ हस्पिटलबाट डिस्चार्ज गरेपछि फेरि दिनचर्या शुरु भयका छन । (more…)

अँध्यारोबाट उज्यालोतिरको यात्रा

June 20, 2010 - 4:07 pm 12 Comments

यि शब्दहरु मैले ओम हस्पिटलको दोस्रो तल्लाको वार्डमा टाइप गरिरहेको छु।
छेउको बेडमा आमालाइ सुताइयको छ। दुखाइ कम गर्ने ओखति मिसियको झोल स्लाइन बोटलबाट पाइप हुँदै आमाको कमजोर शरिरभित्र पसिरहेको छ। हिँजोभन्दा आज ठिक हुँदै छ। राति पुस्तक पढेँ । क्याण्टिन झरेर च्या पियँ । धोबिखोला छेउमा बगिरहेको छ, प्लाष्टिक र फोहोरका थुप्रासहित। राति आमा निदायपछि, बाहिर निस्केर धोबिखोलाछेउ बसेर चुरोट तानेँ। मरेको कुकुर बगाउन खोला संघर्ष गरिरहेको थ्यो जसरि म आमालाइ निको बनाउन। केहिबेरको घम्साघम्सिपछि खोलाले कुकुर बगायो, आमा निको हुनेमा बिस्वस्त छु।

अर्को महिनाबाट म मुम्बइ जानुपर्नेछ। स्कलरशिपको फर्म इमेलमा आयको रहेछ, राति बसेर केहि लेखेँ । तिमि सिनेमाक्षेत्रमा आयौ भने के नाप्छौ भन्ने प्रश्न थ्यो। राम्रा कथा भन्नेछु मेरा सिनेमामार्फत, त्यहि लेखेँ। जति दुनियाँदारि लेखेपनि लास्टाँ त्यहि हो।कस्ता सिनेमालाइ राम्रा भन्ने बारेमापनि सोचेँ । अस्पताल गजबको ठाउँ हुँदोरहेछ। मैले झ्याउलाग्दो दैनिकिबाट मुक्ति पायको अनुभव गरिरहेको छु। सधैको दौडादौड, भागाभाग….कहिलेकाँहि मान्छे शान्ति खोज्छ। अस्पतालमा मैले शन्ति भेटायको छु।
आमा बेलाबखत मतिर हेर्नुहुन्छ बेडबाट। म बाथरुम पुर्याउँछु । रोगले जीवन जटिल बनाउँदो रहेछ। आफु बिरामि हुनाले ब्यस्त छोराले अस्पतालमा समय बिताउन पारेकोमा आमाको आँखामा ग्लानी देखिन्छ। त्यो भावले मलाइ भित्रैबाट हल्लाउँछ। बाबु आमा बिरामि हुँदासमेत ‘सन्तानको बढि समय लियँ कि’ भनेर सोँच्नुपर्ने समय आइसकेछ । मेरा मौन आँशु झर्छन।

आफ्नो सपनाको पछि लाग्दा म धेरै स्वार्थि भैसकेछु। आमाबुवा सन्तानसँग समय बिताउन चाहन्छन। हामि ठुला भयौँ रे ! यो कस्तो ठुलोपन जसले बिरामि हुँदासमेत आमासँग समय बिताउनबाट रोक्छ। म आमासँग छु, जीवन हो, भोलि आमा नरहनुहोला या म नै नरहुँला। मानसिकरुपमा तयार हुनैपर्छ।

पार्किङमा राखेको मोटरसाइकल हेर्छु। यो अब कोहि अरु चढनेछ। म कति स्वार्थि, चढनुसम्म चढेँ, अब बेचेर मुम्बइ जाँदैछु । पैसा पुगेन कलेजलाइ, बिकल्प देखिन। फर्केपछि साइकल त चढन सकिहाल्नेछु नत्र तिसलाख मान्छे माइक्रोले काम चलाइरहेका छन, म पाजि को हुँ? साइकल कुदाउँदै चोभार पुग्नु रमाइलो हुनेछ।

संखुवासभाको पुस्तकालय निर्माणका लागि आयका सहयोगि इमेलको उत्तर कोठामा पुगेर पठाउँछु । फ्रिज खोलेको अस्तिको जिन बाँकि रहेछ। पिइन। अस्पताल फर्केँ। (more…)

बसपार्क र जीवन…

April 7, 2010 - 6:50 pm 7 Comments

मंगलबारको एउटा साँझ ! काठमाडौमा बेसरि बतास चलको छ । म राजदरबार उत्तर ढोका हुँदै old navy स्लिपरमा पैदल हिँडेको छु । केहि दिनदेखि पेट्रोल पाइयको छैन । मोटरसाइकल लाजिम्पाटको गल्लिमा थन्कियको छ । तराइमा तेल बोक्ने ट्यांकर ड्राइभरहरुले हडताल गरेका छन रे । त्यहि हो थाहा पायको अखबारहरु पढेर । मलाइ झ्याउ लागेको छ यार ! यथार्थ यहि थियो ।

अहिले लागेको छैन किनकि त्यो साँझ म कम्प्युटर झोलामा हालेर हाफ पेन्ट र स्लिपरमा गोगँबु बसपार्क पुगेँ । झम्याक्क रात परिसकेको थ्यो । बस पाय घरतिर(बुटवल) लाग्छु, नपाय फर्कन्छु । त्यसपर सोँचियन । बसपार्क पुग्दा पानि र बतास दर्केका थे । छाता ओडेको थेँ, बालै भयन । पानि दर्केका बेला बसपार्कभित्र टेन्ट ओडायर बनाइयको च्या पसलाँ उभियँ । पसले बुढि थिइन, पानि छलेर लुते कुकुरसँगै उभियको म पात्रतिर हेर्दै सोधिन’ केहि चाहियको हो कि बाबुलाइ ?’ उनि दिनभरको बेपारबाट निम्तेका पुराना नोठहरु गन्दै थिइन । बुढि ‘मल्टिटास्किङ’ रहिछिन । मेरो मुला कपाल र हाफ पेन्टको पछिल्लो भाग पानिले पुरै भिजेको थ्यो ।

‘के दिन सक्नुहुन्छ ?’ नेपालि फिलिमको २ पैसे भिलेनले झै सोधेँ मैले ! बुढि हल्का तर्सियकै हुन मेरो डाइलगले । चाउरि परेका तिनका आँखा ठुला भय । यो मुलोले कतै दिनभरको बेपारसेपार चिरिपझ्याँठ पार्दिने त होइन हँ? बुढिका ठुला बनेका मौन आँखाले त्यहि सोधेका थे । उत्तर दिनु अनिवार्य थ्यो उनले – ‘मसित भाको त च्या, चुरोट हो लिनेभय बाबुले ‘
‘दिनुस दुइटै !’
‘कतेवटा दिम चुरोट’
‘एउटो’
‘कुन दिम’ यतिबेलासम्म बुढिले बिरप्पनले भारतका जंगलमा चन्दन तस्करि गर्दा नमाझि च्या पकाउने भन्दा कम्तिको नदेखिने ताप्केमा पानि प्रशस्त मिसायको दुधको एक कप खोलो बगाइसकेकि थिन, त्यसै ‘मल्टिटास्किङ’को पद दिइन्छ र ? उनि माकुने त होइनिन नि, केहि नगरि लड्डु पाउने ।

‘जुन महँगो छ त्यहिदिनुस न यार ‘ सुर्याभन्दा माथिल्लो त्यहाँ थियन भन्ने त मलाइ थाहा थियो, त्यहिपनि पानि सधै नपर्ला । यसरि भिलेन बन्न नपाइन सकिने संभावना राम्रै थ्यो । बुढिले सुर्या र लाइटको समेत काम गर्ने दाउराजत्रो लाइटर पास गरिन, च्यापत्ति पनि थपिन ताप्केमा । च्यामा रङ निकाल्ने काममा बिहानदेखि पकाइयका मृत च्यापत्तिहरुको भुमिका प्रसंशायुक्त देखियो । च्यापत्तिहरु ताप्केको भित्ता र ग्राउण्डमा जुको झैँ टाँसियका थे । मैले च्या र चुरोट इन गर्दै थेँ । जन्मजात दुखि देखिने एउटो टेउसि ड्राइभर पानि छल्दै आयो र सोध्यो – के छ खानेकुरा ?

‘चाउचाउ खाने हो ? बनाइदिम ?’ बुढिले कर्कशायुक्त आवाजमा सोधिन । दुखिरामले टाउको हल्लायो र गोजिबाट शिखरको खिल्लि निकालेर ओँठमा च्याँप्यो । मतिर हेर्यो । त्यो हेराइमा के छ भनेर बुझ्न कुनै डिग्रि लिनु जरुरि छैन । चुरोट पिउने चुरोटेहरुले बुझ्छन । मेरो चुरोटबाट सल्कायो । धन्यवाद सन्यवाद गय तेल लिन । केहि आयन । बुढिले च्या बनायको ताप्के धसिन र जुके च्यापत्तिहरु पखालिन । एकैछिनमा त्यसैमा चाउचाउ पाक्यो । वाइवाइमा २ रुप्पे परेछ । टेउसि ड्राइभरको आँखा छलेर बुढिले कुपन पटुकाभित्र पुराइन । (more…)

एउटा राम्रो सिनेमाको बारेमा….

March 25, 2010 - 4:20 pm 9 Comments


कुनै दिन मैले सोँचेको थियँ, सिनेमा बनाउनु मेरो पेशा हुनेछ । सिनेमा पढन म १२ पास गरेपछि काठमाडौ हानियको थियँ २००१ मा । निर शाहले नेपालमा पहिलोपल्ट एकाडेमिक रुपमा पढन पाइने सिनेमा कलेज खोलेका थिय नत्र त्यतिबेलासम्म ‘यहाँ सिनेमा सिकाइन्छ’ डान्स सिकाइन्छ, द्वन्द सिकाइन्छ, यो सिकाइन्छ उ सिकाइन्छ भनेर घरै पिच्छे खोलियका पुतलिसडक ब्राण्डका चैते सिनेमा इन्स्चिट्युटहरुको हालिमुहालि थियो । अखबारहरुका बर्गिकृत बिज्ञापनहरुमा म्युजिक भिडियो र टेलिसियलमा ग्यारेण्टिकासाथ खेलाइने भन्ने छापियका हुन्थे । तिनले मलाइ कहिले तानेनन तर निर शाहले कलेज खोलेपछिचाँहि सिनेमा पढने सपना पुरा गर्नु थियो । सिनेमा कलेजमा भर्ना भयँ निर्देशन र पटकथा लेखनको कक्षामा ।

२००१ तिर महिनाको ६ हजार तिर्नुपर्ने सिनेमा बिद्या सिक्ने त्यो प्रयाश पिडादायक सावित भयो मेरा निम्ति, जब सिनेमा पढ्न कतैबाटपनि स्विकृति आयन । छ महिना पढेपछि कलेजबाट बाहिरिनुको बिकल्प थियन । बाहिरियँ र स्पट ब्वायको काम गर्न थालेँ । ति दिनहरु गजबका थिय । नेपाल चलचित्र निर्माता संघको नक्सालस्थित कार्यालयमा काम खोज्न पुगेको थियँ । २००२ तिरको कुरा हुनुपर्छ । त्यहाँ केहि पाकिरहेको थियो अफिससँगैको कोठामा । निर शाहको कलेजबाट आयको बिद्यार्थिका रुपमा अपेक्षा गरेभन्दा बढि सम्मान पाइयो र मासु चिउरा पनि । मासु चिउरा खायर निस्केको २ हप्तापछि त्यहिँ भेटियका निर्माताले बनाउन थालेको सिनेमामा स्पट ब्वायको काम शुरु भयो ।

स्पटमा चिया बाँडदै गर्दा यति चिया पिइयो कि, निर्माता टाट पल्टिनुमा ति चियाको समेत केहि योगदान हुँदो हो ।

उत्साह थियो केहि गर्छु भन्ने, तर इतिहास जित्नेहरुको लेखिन्छ ।एकबर्षसम्म सिनेमामा काम गरेपछि मलाइ कोठाभाडा तिर्न गार्हो पर्न थाल्यो । स्पट ब्वायले पाउने जाबो ५ हजार रुपैया सिनेमा सकियपछि असुल गर्न हतियार नै उठायर माओवादि बन्नुपर्ने अवश्था प्रिय थियन ।अर्को प्रचण्ड बन्नुभन्दा मैले सिनेमा छाडेँ । (more…)

अमेरिकामा नेपालि झण्डा देख्दा..

October 30, 2009 - 2:53 am 1 Comment

केहिदिन अगाडि Georgia को ऐतिहासिक शहर Savannah गयको थियँ तिन दिनको लागि । राम्रो शहर ! इतिहासलाइ कसरि जोगायर राख्नुपर्छ भनेर सिक्ने अवसर थियो त्यो । एकसाँझ सभाना रिभर को छेउछाउँ घुम्नेक्रममा एउटा पसलमा नेपालको ठुलो झण्डा देखेँ । अचम्म लाग्यो बा यहाँपनि हाम्रो झन्डा । त्यति राम्रो झण्डा त मैले नेपालमै हुँदापनि देखेको थिइन । पसलमा मान्छेचाहिँ कोहि थियनन । एकैछिन पर्खेँ । बाटोको पारिपट्टि अर्को नेपालि पसल ‘उमा इम्पोर्ट एक्सपोर्ट’ देखेपछि त्यहाँ छिरेको त बुटवलकि उमा दिदि भेट भइन । त्यो उनको पसल रहेछ । त्यसै क्रममा र Georgia बाट फर्कने क्रममा लियका केहि फोटाहरु राखेको छु आज ।

साथि अनेश

(more…)

युद्वको सम्झनामा

October 27, 2009 - 10:40 am 3 Comments

२००८ मा केहि महिनाको लागि इराक जाँदा कुवेतस्थित अमेरिकन सैनिक बेश ‘Ali Al Salem Airbase’ हुँदै इराकको राजधानि बगदाद पुगेको थियँ । त्यतिबेला लियका केहि फोटाहरु युद्व सम्झाउन अनि त्यतिबेलाको समय सम्झाउने खालका छन । ति मध्ये केहि तस्विरहरु आज प्रस्तुत गरेको छु -स्याटेलाइट

(more…)

समवेदना !!

December 22, 2008 - 11:33 pm No Comments

संभवत नेपालकै सबैभन्दा चर्चित र नेपालि भाषाको पहिलो ब्लग माइसंसार डट कम चलाउने मित्र उमेश श्रेष्ठका बुवाको असामयिक निधन भएकोमा शोकमा डुबेको परिवारप्रति हार्दिक संवेदना ब्यक्त गर्दछु । मरेर जानु शाश्वत सत्य भएपनि भोग्नेलाइ यो गारो हुन्छ । समय शुन्यतामा बदलिन्छ अनि दिनहरु निरश बन्छन । सम्बन्धका खुट्किलाहरु स्मृतिमा सल्बलाउन थाल्छन । ति बितेका दिन अनि संघर्षका क्षणहरु ।
आमा बुवा सबैका निम्ति सबैभन्दा नजिकका इश्वरहरु हुन । उनिहरुलाइ गुमाउनुपर्दाको दुख शब्दमा ब्यक्त गर्ने सामर्थ्य छैन ममा ।

ति आशिर्वाद र स्नेहका निम्ति हामि स्वर्गिय बुवाप्रति सधैभरि ऋणि नै रहनेछौँ ।

आँशुको यो मौसममा मेरो समवेदना ।

-स्याटेलाइट

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.