-डा शंकरमान राई

मेरो स्वास्थ्यकर्मीको पेसा ३० वर्ष पुरानो भयो । सोलुखुम्बुको सोताङबाट ‘हेल्थ असिस्टेन्ट’को रूपमा यो यात्रा थाल्दा गाउँको अधिकांश मानिस गरिब र अशिक्षित थिए । उनीहरूलाई ठूलो अस्पताल जानु धेरै गाह्रो कुरा थियो । उनीहरू मलाई त्यहाँको डाक्टर नै ठान्थे । सामान्य बिरामीमात्र होइन, हातखुट्टा भाँचिएका, जटिल प्रकृतिका सुत्केरी केश पनि आउने गर्थे । स्वास्थ्यचौकी ल्याउन नसकिनेका लागि बोलाउन आउँथे । म उपचारको निम्ति घरमै पनि जान्थेँ । स्वास्थ्यचौकीमा मैले उपचार गर्न नसक्ने बिरामी नआउन् भनेर प्रार्थना गर्थें । किनकि गाउँलेले डाक्टर भने पनि वास्तवमा म एउटा हेल्थ असिस्टेन्टमात्रै थिएँ । सानोतिनो घाउचोटमा मलमपट्टी लगाउने र भएको औषधी दिनुबाहेक अरू काम गर्ने मेरो सामर्थ्य थिएन ।
नचाहँदा-नचाहँदै र भन्दाभन्दै पनि मैले उपचार गर्न नसक्ने बिरामी धेरै आइरहन्थे । तीमध्ये अधिकांशलाई टाढाको अस्पताल जान जेथाले साथ दिँदैनथ्यो । त्यस्ता बिरामी देख्दा सुत्केरी अवस्थामै बितेकी मेरी आमालाई सम्भिन्थेँ । तर पनि त्यस्ता असहाय बिरामीहरूलाई अरू नै अस्पताल जानु भन्नुबाहेक मसँग अरू उपाय हुन्नथ्यो । यसो भनिरहँदा मनमा तीतो अनुभूति बढ्दै गयो । त्यही तीतोपन हटाउन आफैं डाक्टर बन्ने कुरा सोच्न थालेँ । मैले जे सोचेँ, त्यो अरूलाई पनि भनेँ । कतिपयले चाहिँ ‘हेल्थ असिस्टेन्ट’ पनि डाक्टर हुन्छ भनेर खिल्ली उडाए ।
म आज पनि मनमा लागेको कुरा भनिहाल्छु । त्यसो गर्दा त्यो कुरा पूरा हुने-नहुने चाँडै थाहा हुन्छ । सायद सोलुमा हुँदा मैले मेरा चाहना मनभित्रै लुकाइराखेको भए म जीवनभर ‘हेल्थ असिस्टेन्ट’मै सीमित रहन पनि सक्थेँ । शिक्षण अस्पताल, बेलायत, बंगलादेश र अमेरिकामा अध्ययन गर्दै आज इन्टर प्लास्ट सर्जन हुन्न थिएँ ।
भित्री इच्छा प्रकट गर्नेसँग आफ्नो लक्ष्य प्राप्तिका लागि लागिपर्ने शक्ति हुँदोरहेछ । त्रिविको मेडिसिन क्याम्पसमा एमबीबीएस पढिरहँदा (more…)