बाँच्नुका दैनिकीहरु…
गत हप्ता नेपाल फर्केपछी म बिरामी भयँ । लामो यात्राले थकित भयको थियँ । आउँदाको दिन सुतेँ । अर्कोदिन काठमाडौका गल्लिहरुमा पैदल हिँडेको थियँ । प्राय मान्छेहरुले मास्क लगायका देखिन्थे सडकमा । म नलगाइ हिँडे । साँझबाट हाछिउँ शुरु भयो । अर्को बिहान म बस चढेर बुटवल उत्रिँदासम्म ज्वरोले च्याँपिसकेको थियो । घरमा पनि पुग्नु । सुत्नु परिहाल्यो । मलाई थाहा थियो यो ज्वरो र रुघा काठमाडौंको धुवाँ र धुलोको कारणले थियो । अर्को बिहानसम्म सञ्चो नभयपछी कतै स्वाइन फ्लु त लागेन भन्ने लाग्न थाल्यो ।
आमाले डक्टरकोमा जान कर गरिरहनुभयको थियो । मैले ठिक भैहाल्लानी भन्दै टारिरहेको थियँ । मैले सरकारी अस्पतालमा जँचाउन टिकट लियर आउ भन्दा भाईले ह्याँ आँखा देखाउँदै भन्यो ‘काँ सरकारी अस्पतालमा गएर हुन्छ दाई, मर्नु छ र ? फेरी लाइन पनि याँ हो र …..भैरहवासम्म पुगेको हुन्छ । खुरुक्क क्लिनिकमा हिँड्नोस’ सरकारी अस्पतालमा भिड हुन्छ भन्ने त थाहा थियो तर त्यहाँ जँचाउने मेरो इछ्या थियो । हाम्रा अस्पतालहरुलाइ उच्च बर्गकाले त गन्दै गन्दैनन, अचेल त मेरो जस्तो मध्यमबर्गियकाले समेत आँखा लगाउन छाडिसकेछन ।
सरकारी अस्पतालमा त कामै नलाग्ने उपचार हुन्छ भन्ने भ्रम पालियको छ । त्यस्तो पटक्कै होइन । सरकारी अस्पतालहरुमा राम्रा राम्रा डक्टर र नर्सहरुले अहोरात्र सेवा गरिरहेका छन् । हामीहरुले कहिल्यै उनीहरुको सेवालाई स्याबासी दिन सकेनौ । मलाई सरकारी अस्पतालमा चेक-अप गरायर त्यहाँका डाक्टरलाई सेवाको लागि ‘धन्यबाद’ भन्ने मन थियो । यही बर्ष मैले मेरो बिदेशी साथीलाई भैरहवास्थित सरकारी आँखा अस्पतालमा लगेर उसका आँखा चेक-अप गरायको थियँ । सस्तो शुल्कमा गुणस्तरीय सेवा पायर ऊ र म दुबै प्रसन्न भयका थियौँ । मलाई पनि हाम्रा सडकहरु धुले भयपनी, हाम्रा रेष्टुरेन्ट र होटलका खाना नछोपी राख्नाले झिँगा भन्किरहेपनी, स-साना झगडाहरुमा सडक बन्द गरेर हजारौं यात्रुहरुलाई दु:ख दिने नालायकहरु भयपनी, सार्है झुट बोल्ने नेताहरु भयपनी, देश जलश्रोतमा सामन्तसरह र बिजुलिमा कमैया भयपनी हेर कान्छा यो देशमा सस्तो शुल्कमा राम्रो सेवा दिने भैरहवाको आँखा अस्पतालहरुपनी त छन् नी भन्न मन लागेको थियो साथीलाई ।
भाइसँग बिवाद गर्दागर्दै अञ्चल अस्पतालमा चेक-अपका लागि टिकट लिने समय सिध्धीसकेको रहेछ । मलाई ज्वरोले झन च्याँपिरहेको थियो । प्राइभेट क्लिनिकमा गयर चेक-अप गरायँ । औषधी लियँ । स्वाइन फ्लुको शंका निवारण रगत चेक गरायर गरेँ । अर्को बिहान सम्ममा मलाई अलिक ठिक भैसकेको थियो । मोटरसाइकल लियर म काठमाडौतिर हानियँ । मंसिर १५ गते म्याग्दीको शिख जानुपर्ने थियो । बाघबिर पुनको बिद्यालयको बार्षिकोत्सवको अवसर पारेर हामीले थप पुस्तकहरु जम्मा गरेका थियौँ त्यहाँस्थित पुस्तकालयको लागि ।
तिनै पुस्तकहरु लियर नागरिक दैनिकका कृष्ण ढुङ्गाना र म जाने कुरा थियो तर म बिरामी हुनाले त्यो मिती मिस गरियो । थप पुस्तकहरु जम्मा गरेर बाघबिर दाईलाई काठमाडौंमै बोलाउनु पर्ला लिन या कुनै दिन गाउँतिर हानिनुपर्ला ।
काठमाडौमा जाडो हर्लक्कै बढेको छ । साँझमा बत्ती जान्छ । सुत्नुपर्छ । बिहान सबेरै उठ्छु । कालो चिया बनायर दिनको शुरुवात हुन्छ । कौसिमा बसेर आकाश हेर्दा सुर्यको पत्तो देखिन्न । शुन्यता लाग्छ जिवन कहिलेकाँही । शुन्यतामा जति शान्ति मैले अरुबेला भेटदिन । एकान्तप्रेमी हुनु अपवादै त होइन नी । हिँजो बिहान भाटेभटेनीको साइबरबाट नेपाली पप गीतहरु किनेर कम्प्युटरमा राखेको छु । मध्यरात या बिहानिमा सुन्दै म शब्दहरुमा ब्यस्त हुन्छु । कर्णदासले केही बर्ष अगी गायका थिय ‘जिवन एउटा नदी रहेछ, सुकिजाने हो की ‘ त्यस्तै छ जिवन ।
हिँजो साँझ दशरथ रंगशालामा गयको थियँ । बास्केट बल कभर्ड हलमा एकछिन बसेर आयँ । कुनै राणा शासकले भयपनी ती रंगशाला बनाइदियछन नत्र हामीले के बनाउन सक्यौँ र ? बस्ने ठाउँ हरुमा धुलो जेमको थियो टन्नै । त्यहाँ रेखदेख गर्ने बुढामान्छेलाई ‘यो त सफा राख्न पाय नी हुन्थ्यो ‘ भने । खेलकुद परिषदमा एउटा भ्याकुम क्लिनर रहेनछ । गजब छ । कभर्ड हलको माथिल्लो तल्लामा खेलकुद मन्त्री गणेश तिवारी नेपालीको ‘बाहिर’ बोर्डमा पनि राम्रै धुलो जम्मा भैसकेको रहेछ । सायद खेलकुद मन्त्री नेपाली खेलकुदलाई माथि लैजान अरब या युरोपका मुलुकहरुमा भ्रमणमा हुनुहुन्छ होला । यी भ्रमणहरुलेपनी नेपाली खेलकुदलाई आवश्यकताभन्दा बढी नै माथि उठाउने भय भन्ने डर मानिरहेको छु म ।
नेपाल यसरी नै चलिरहेको छ । म त्यसैगरी चलिरहेको छ । बिद्युत प्राधिकरण त्यसरै नै घाटामा चलिरहेको छ । टेलिकमको हालत पनि कम्तीको छैन । सिमकार्डहरु त टन्नै बितरण गरिय तर ‘नेटवर्क कभरेज’ पाइन्छ भाग्य भय । नेपाल एयरलाइन्सका सुगतरत्न कंसाकार नयाँ जहाज ल्याउन लागिपरेका छन् । ती उत्साहीलाईपनी बिभिन्न आरोपहरुले काम गर्न दीइरहेका छैनन । नेपालमा शंकाले पनि केही गर्न दियन काम गर्न खोज्नेहरुलाई पनि ।
अहीलेलाई यत्ती, बाँकी लेख्नलाई जिवन बाँकी नै छ ।
कतै अझै बजिरहेको छ ‘ जिवन एउटा नदी रैछ….. सुकीजाने हो की ?
सबैको मंगल होस ।








I am happy to welcome you all in my personal blog.
December 1st, 2009 at 4:49 pm
Good one brother.
December 1st, 2009 at 6:58 pm
कुनै समय महाकबि लक्ष्मी प्रसाद देवकोटाले भनेका थिए “सजीव बस्तुहरु को कलात्मक प्रकासन नै साहित्य हो” त्यस्तै छ तपाईं को लेखाई, राम्रो प्रस्तुतीकरण……
December 3rd, 2009 at 7:34 pm
स्याटलाइट जी कस्तो मन को बाँध नै खोलेर लेख्नु हुन्छ नि , तेस्कारण त म हजुर को लेख खोजी खोजी पद्छु।
Get well soon Brother………..
December 3rd, 2009 at 9:10 pm
स्याटेलाइटजी लेखले यथार्थ बोलेको छ । ब्लग अली छिटोछिटो अपडेट गरे हुने हो । हुन त भन्न सजिलो छ ।